म्याग्दीमा व्यावसायिक बन्दै सुँगुरपालन
म्याग्दी | साउन २०, २०७९
माग बढेपछि म्याग्दीमा व्यावसायिक रूपमा सुँगुर पाल्न थालिएको छ । घरायसी र धार्मिक प्रयोजनका लागि सुँगुर पाल्ने कृषकले आम्दानी गर्न थालेका हुन् ।
म्याग्दीको बेनी नगरपालिका-१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ सुँगुरका माउ छन् । उहाँले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्दै आउनुभएको छ । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् । एउटा पाठो पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । “पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिक रुप दिइएको थिएन तर अहिले बङ्गुरसँगै सुँगुर पनि व्यावसायिक रुपले पाल्न थालेको हुँ । परिवारबाहेक चार–पाँच जनालाई रोजगारी पनि दिएको छु”, उहाँले भन्नुभयो, “व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकहरुलाई पनि हौसला मिलेको छ ।”
सुँगुरका पाठापाठीलाई स्थानीयवासीले ‘भुनी’ र ‘वीरे’ भनी सम्बोधन गर्छन् । भुनी तीन महिनामा गर्भवती हुन्छे र छ महिनामा ब्याउँछे । भुनीले एक बेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सुँगुरको एक बर्षमा ६० केजी तौल पुग्छ । पैँतालिस दिनमा पाठापाठी र माउ छुट्याउनुपर्छ, नत्र आमाले पाठापाठी मार्छे । सुँगुरको मासु प्रतिकेजी रु आठ सयमा बिक्री हुन्छ ।
सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न अनुदान दिएको छ । मासुको मुख्य बजार बागलुङ र बेनी हो । जिल्लामा सुँगुर पाल्ने बेनी–१ को रत्नेचौर र अर्जममा मात्र गरिएको छ । होटल, रेष्टुरेटमा सुँगुरको मासुको माग बढेसँगै पछिल्लो समय जिल्लाभर व्यावसायिक रूपमा बङ्गुरसँग जोडेर कालो सुँगुर पाल्न थालिएको अर्जमका कृषक नरबहादुर थापाले बताउनुभयो । रत्नेचौर र अर्जममा पाँच सयभन्दा बढी मगर घरमा दुई–चार वटा लोकल कालो सुँगुर अनिवार्य पाल्ने गरिन्छ । केही दलित र नेवारले पनि सुँगुर पालेका छन् ।
थापामगरको घरमा मान्छे मर्दा पिण्डदान गर्ने बेला सुँगुर नभई हुँदैन । पितृलाई पिण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको मासु चढाउने चलन छ । कुलपूजा, पितृपूजा, दशैँमा देवी मन्दिरमा पञ्चबलि दिँदा होस् वा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यक्रममा सुँगुर काट्ने गरिन्छ । परम्परागत शैलीमा पालिँदै आएको कालो सुँगुरपालनलाई व्यावसायिक बनाउन बेनी-१ वडा कार्यालयले खोर निर्माण, व्यावसायिक फर्म स्थापना गर्नेलाई प्रोत्साहन गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...
काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन बैंकिंग सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनामार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचन...

